spot_img

बिरुवा चोरी गरेको प्रमाणित गरेर देखाउनुस् : जयप्रकाश खेतान

spot_img
spot_img

वीरगन्ज,२६ साउन । वीरगन्ज महानगरपालिकाको नर्सरीबाट बिरुवा चोरी गराएको भन्दै विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडिएपछि ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले त्यसको कडा खण्डन गरेका छन्।

खेतानले आफू लामो समयदेखि वीरगन्जमा वृक्षारोपण तथा हरियाली प्रवर्द्धनका गतिविधिमा निःस्वार्थ रूपमा संलग्न रहेको बताएका छन्। उनका अनुसार तत्कालीन महानगर प्रमुख राजेशमान सिंहले महानगरपालिकाको सरसफाइ तथा हरियाली प्रवर्द्धनसम्बन्धी कामको संयोजन गर्ने जिम्मेवारी आफूलाई दिएका थिए।

सोही क्रममा महानगरपालिकासँगको सहकार्यमा मितेरी पुल, बाइपास रोड, ड्राइपोर्ट–परवानीपुर सडक, बीपी उद्यानलगायतका क्षेत्रमा विभिन्न प्रजातिका बोटबिरुवा तथा फूलका बिरुवा रोपिएको उनले बताए।

महानगरपालिकाको आदर्शनगरस्थित नर्सरीबाट खेतानको निर्देशनमा उनका कर्मचारीले १२० थान बिरुवा लगेको भन्ने समाचार सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन्। खेतानले ती बिरुवा चोरी नभई वीरगन्जका विभिन्न स्थानमा वृक्षारोपण गर्ने उद्देश्यले लगिएको दाबी गरे।

उनले आफूविरुद्ध लगाइएको आरोप तथ्यहीन हुनुका साथै राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाए। “काम गर्ने मान्छेको खुट्टा तान्ने धेरै हुन्छन्। हरियाली प्रवर्द्धनका लागि भइरहेको कामलाई अनावश्यक रूपमा विवादमा ल्याउनु उचित होइन,” खेतानले भने।

महानगरपालिकाका कर्मचारीका अनुसार नर्सरीबाट लगिएका बिरुवा भोलिपल्टै वीरगञ्जको छपकैयास्थित एक विद्यालय तथा छठघाट परिसरमा रोपिएका थिए।

खेतानले आफूले बिरुवा चोरी गरेको प्रमाणित गर्न चुनौती दिँदै हरियाली प्रवर्द्धनका लागि सञ्चालन गर्दै आएको अभियानलाई राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन्। वातावरण संरक्षण र वृक्षारोपणजस्ता कामलाई विवादित बनाउनुको सट्टा सकारात्मक रूपमा लिएर सहकार्य गर्नुपर्ने उनको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय