वीरगन्ज,२६ साउन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगन्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिका लागि खाद्यान्न तथा भोजन सेवा सहयोग गरेका छन्।
अवलोकनका क्रममा भट्टराईले आश्रममा रहेका व्यक्तिहरूको अवस्था तथा आश्रमले गर्दै आएको उद्धार, संरक्षण, उपचार र मानवसेवाका गतिविधिबारे जानकारी लिएका थिए।
सो अवसरमा नेपाल प्रहरीले मानवसेवा आश्रमका विभिन्न शाखामा २४ घण्टा एक जना सादा पोशाकका प्रहरी कर्मचारी परिचालन गरी सुरक्षा तथा आवश्यक समन्वयमा सहयोग गर्दै आएको जानकारी गराइएको थियो।
प्रहरी प्रमुख भट्टराईले आगामी दिनमा नेपाल प्रहरीका तर्फबाट तथा व्यक्तिगत रूपमा समेत आश्रमलाई आवश्यक सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए। मानवसेवा जस्तो सामाजिक अभियानलाई प्रभावकारी बनाउन राज्यका निकाय, सुरक्षा संयन्त्र र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए।
कार्यक्रममा मानवसेवा आश्रम पर्साका संरक्षक तथा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, आश्रम अभिभावक परिवारका संयोजक एवं वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम तथा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्तालगायतको उपस्थिति थियो।
मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका, असहाय, बेसहारा तथा परिवारबाट परित्यक्त व्यक्तिहरूको उद्धार गरी आश्रय, संरक्षण, उपचार र पारिवारिक पुनर्मिलनका लागि काम गर्दै आएको छ।
प्रहरी प्रमुख भट्टराईको अवलोकन तथा सहयोगप्रति आश्रम परिवारले आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरेको जनाएको छ।




