काठमाडौं,२६ साउन । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
दमास्कसस्थित अदालतले मंगलबार असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको हो। सन् २०२४ को डिसेम्बरमा शासन पतन भएपछि असद सिरियाबाट भागेर रुस पुगेका थिए। उनको बहिर्गमनसँगै सिरियामा असद परिवारको पाँच दशकभन्दा लामो शासन अन्त्य भएको थियो।
उही मुद्दामा असदका भाइ महेर अल असद तथा उनका नातेदार एवं दारा प्रान्तका तत्कालीन राजनीतिक सुरक्षा प्रमुख आतेफ नजीबविरुद्ध पनि गम्भीर अपराधका आरोपमा फैसला भएको छ। नजीबलाई अदालतमा उपस्थित गराएर फैसला सुनाइएको थियो।
दारा सहरलाई सन् २०११ मा असद शासनविरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा लिइन्छ। सरकारविरोधी भित्ते लेख लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएपछि त्यहाँ प्रदर्शन सुरु भएको थियो। सुरक्षा निकायले प्रदर्शनमाथि गरेको कठोर दमनपछि आन्दोलन देशभर फैलिँदै अन्ततः लामो गृहयुद्धमा परिणत भएको थियो।
करिब १४ वर्ष चलेको उक्त गृहयुद्धमा ठूलो मानवीय क्षति भएको थियो। असद शासनका क्रममा हत्या, यातना, मनपरी गिरफ्तारी तथा नागरिकमाथि दमनलगायतका गम्भीर अपराध भएको आरोप लाग्दै आएको थियो।
सिरियाको अन्तरिम सरकारले असद शासनका उच्च तहका अधिकारीमाथि जवाफदेहिता कायम गर्ने प्रक्रिया अघि बढाउँदै आएको छ। नजीबविरुद्ध विशेषगरी सन् २०११ मा दारामा भएको दमन, हत्या र यातनासम्बन्धी आरोपमा मुद्दा चलाइएको थियो।
असदलाई सुनाइएको फैसला सिरियामा उनको परिवारको लामो शासन अन्त्य भएपछि पूर्वशासकमाथि भएको पहिलो प्रमुख कानुनी कारबाहीका रूपमा हेरिएको छ।




