spot_img

जनता सहज सेवा र सुशासनको अनुभूति चाहन्छन् : सांसद पन्त

spot_img
spot_img

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले जनताले सरकारबाट तत्कालै ठूला उपलब्धिभन्दा दैनिक सेवासुविधामा सहजता र सुशासनको अनुभूति खोजिरहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले निर्वाचन क्षेत्रका नागरिकसँग भेटघाट तथा संवाद गर्दा उनीहरूले सरकारी सेवा लिन भोगिरहेका समस्या र समाधानका उपायबारे सुझाव दिएको बताए।

उनका अनुसार नागरिकले जिल्ला प्रशासन, प्रहरी, नापी, मालपोत तथा यातायात कार्यालयबाट बिना सिफारिस र लेनदेन सहज तथा प्रक्रियागत रूपमा सेवा पाउन चाहेका छन्। नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी तथा इन्धनका लागि लामो समय लाइन बस्नुपर्ने अवस्थाको अन्त्य होस् भन्ने जनताको अपेक्षा रहेको उनले बताए।

‘नागरिकता, लाइसेन्स, पासपोर्ट र इन्धन लिन लाइन बस्न नपरोस् भन्ने जनताको आशा छ,’ उनले भने।

सांसद पन्तले मुलुकमा दशकौँदेखि जरा गाडेर बसेका भ्रष्टाचार, अनियमितता र बेथिति छोटो समयमै अन्त्य गर्न कठिन हुने कुरा जनताले बुझेको दाबी पनि गरे। सरकारविरुद्ध भ्रम र निराशा फैलाउने प्रयास भइरहे पनि स्थानीय नागरिक त्यस्ता विषयप्रति सचेत रहेको उनको भनाइ थियो।

उनले अहिलेको तत्कालीन आवश्यकता किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउनु रहेको बताए। सरकारले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए।

रास्वपा सांसद पन्तले सुशासन र परिवर्तनको अनुभूति दिलाउन सरकारी संयन्त्रलाई पनि सरकारको नीति तथा जनताको अपेक्षाअनुसार काम गर्ने गरी जिम्मेवार बनाउनुपर्ने बताए।

उनले नेपाल सरकारअन्तर्गतका सचिव, सहसचिव, उपसचिव तथा अधिकृतदेखि जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अन्य कार्यालय प्रमुखलाई छुट्टै संसदीय संयन्त्रमार्फत अभिमुखीकरण, तालिम तथा प्रशिक्षण दिएर जिम्मेवारीमा पठाउन सरकारसँग आग्रह गरे।

पुरानो व्यवस्थाले अपेक्षित काम गर्न नसकेपछि जनताले नयाँ शक्तिलाई विश्वास गरेर निर्वाचित गरेको उल्लेख गर्दै उनले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीलाई तत्काल परिवर्तन गर्न सम्भव नभए पनि सरकारको नीति र जनादेशअनुसार काम गर्ने गरी प्रशिक्षित र जिम्मेवार बनाउन आवश्यक रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय