spot_img

चारबुँदे सहमतिपछि विनय यादवको आमरण अनशन १३औँ दिन स्थगित

spot_img
spot_img

वीरगन्ज,२६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज घटनाका पीडित तथा प्रभावित परिवारलाई न्याय, सुरक्षा व्यवस्था र नीतिगत स्पष्टतासहितका माग राखेर आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गरेका छन्।

यादवले गत साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका थिए। सरकारले उनका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित चारबुँदे लिखित सहमति गरेपछि अनशनको १३औँ दिन तत्कालका लागि स्थगित गरिएको राष्ट्रिय एकता दलले जनाएको छ।

दलका केन्द्रीय सदस्य मानिष पूर्वेले जारी गरेको विज्ञप्तिमा सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका विषयमा सरकारले गरेको प्रतिबद्धता यथाशीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गरिएको छ।

यादवले उठाएका अन्य मागप्रति समेत सरकारको ध्यानाकर्षण भएको भन्दै तिनको सम्बोधनका लागि सरकारले आवश्यक पहल गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय एकता दलले आफ्ना राजनीतिक तथा हिन्दुवादी मुद्दालाई निष्कर्षमा पुर्‍याउन आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। हिन्दुको ऐतिहासिक निरन्तरता तथा राष्ट्रिय पहिचानसम्बन्धी चेतना अभिवृद्धिका लागि आवश्यकताअनुसार आगामी दिनमा पनि आन्दोलन गर्न तयार रहेको दलले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय