वीरगन्ज, २६ साउन । वीरगन्ज महानगरपालिका–२५ खल्वाटोला सिर्सियास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नवनिर्मित दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ।
करिब ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष चतुर्वेदीले विद्यालयमा निर्माण भएका भौतिक संरचनाको संरक्षण गर्दै तिनको प्रभावकारी उपयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे। उनले भौतिक पूर्वाधारको विकाससँगै विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
चतुर्वेदीले विद्यालयमा मोन्टेस्वरी कक्षाका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने, स्मार्ट बोर्ड जडान गर्ने तथा बाउन्ड्री वाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयको पठनपाठन तथा अन्य शैक्षिक गतिविधिमा हुने कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने उल्लेख गर्दै उनले विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक काम गर्न विद्यालय व्यवस्थापन र शिक्षकहरूलाई आग्रह गरे।
नवनिर्मित भवनबाट विद्यालयको पठनपाठन थप व्यवस्थित हुनुका साथै विद्यार्थीलाई सहज र सुरक्षित शैक्षिक वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।




