काठमाडौँ,२७ साउन । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाबीचको सम्बन्ध फेरि चर्चामा आएको छ। सुनीताले गोविन्दाको युवावस्थादेखि नै अन्य महिलासँग सम्बन्ध रहेको आरोप लगाएपछि गोविन्दाले सार्वजनिक रूपमा त्यसको जवाफ दिएका छन्।
एएनआईसँग कुरा गर्दै गोविन्दाले आफूविरुद्ध सार्वजनिक रूपमा नकारात्मक टिप्पणी गरेर चर्चा बटुल्ने प्रयास भइरहेको संकेत गरे। उनले प्रश्न गरे, ‘सफल हुन अरूलाई बदनाम गर्नैपर्छ र?’
सुनीताले आफूलाई गाली गरे पनि त्यसमा आफूले पत्नीको माया देख्ने गरेको गोविन्दाले बताए। उनले भने, ‘उनी मलाई धेरै मायाले गाली गर्छिन्, म उनका हातबाट खान्छु पनि।’
गोविन्दाले आफूले हरेक आरोपको सार्वजनिक रूपमा जवाफ दिन आवश्यक नठानेको बताए। उनका अनुसार मानिसको सफलता भगवानको आशीर्वाद र आफ्नो भूमिकामा निर्भर हुन्छ। सम्बन्धमा दूरी बनाउन आरोप–प्रत्यारोपलाई माध्यम बनाउनु उचित नभएको उनको भनाइ छ।
सुनीताले कहिले आफ्नो प्रशंसा गर्ने र कहिले आलोचना गर्ने गरेको उल्लेख गर्दै गोविन्दाले त्यसलाई पनि आफूले मायाकै रूपमा लिने गरेको बताए।
‘लक अप २’ मा सुनीताको आरोप
केही समयअघि भारतीय रियालिटी शो ‘लक अप २’ मा सहभागी सुनीताले गोविन्दाको युवावस्थामा धेरै महिलासँग अफेयर रहेको दाबी गरेकी थिइन्। उनले आफूले विगतमा गोविन्दाका यस्ता सम्बन्धलाई बेवास्ता गरेको भए पनि अब त्यस्तो कुरा सहन नसक्ने बताएकी थिइन्।
सुनीताले प्रेम सम्बन्धमा धेरै कुरा सहन सक्ने क्षमता आवश्यक हुने बताउँदै गोविन्दामाथि अर्की महिलासँग सम्बन्ध राखेर आफूलाई धोका दिएको आरोपसमेत लगाउँदै आएकी छन्। पछिल्लो समय उनका यिनै अभिव्यक्तिपछि गोविन्दा–सुनीताको वैवाहिक सम्बन्ध फेरि बलिउडमा चर्चाको विषय बनेको छ।




