spot_img

लाल बकैया नदीमा बेपत्ता बालिकाको खोजी तेस्रो दिन पनि जारी

spot_img
spot_img

रौतहट,२८ साउन । देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १० वर्षीया बालिकाको खोजी कार्य बिहीबार तेस्रो दिन पनि जारी छ ।

मङ्गलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव बुधबार बिहान घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुल नजिक फेला परेको थियो ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार मृत फेला पर्नेमा स्थानीय शेख कमरे आलमका १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् । उनीहरूसँगै डुबेकी शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन भने अझै बेपत्ता छन् ।

बुधबार दिनभर खोजी गर्दा पनि रौशन फेला नपरेपछि बिहीबार बिहानैदेखि सुरक्षाकर्मीले खोजी अभियानलाई तीव्र बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट असई भीमबहादुर पुनको नेतृत्वमा नौ सदस्यीय डिजास्टर म्यानेजमेन्ट टोली रबर बोटसहित परिचालन गरिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक भट्टराईको नेतृत्वमा नौ जना तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस देवाहीबाट असई भक्तबहादुर शाहीको नेतृत्वमा सात जनाको टोली नदीको तल्लो तटीय क्षेत्रमा खोजीमा खटिएको छ ।

लाल बकैया नदीमा पछिल्लो समय पानीको बहाव बढेकाले खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको सुरक्षाकर्मीले बताएका छन् । घटनापछि लक्षमिनिया टोल र आसपासका क्षेत्रमा शोक छाएको छ ।

नदी तथा खोलामा पानीको बहाव बढिरहेका कारण बालबालिकालाई नदी किनारमा एक्लै नपठाउन र तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जिल्ला सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय