वीरगञ्ज,२८ साउन । सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका आठवटै जिल्लाबाट ७५ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्रमा निगरानी, गस्ती र आकस्मिक जाँचलाई कडाइ गरेसँगै चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, छिन्नमस्ता बाहिनी मातहतका टोलीले २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म विभिन्न सीमा क्षेत्रबाट ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपैयाँ २० पैसा बराबरका अवैध सामान नियन्त्रणमा लिएका हुन्।
बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार तथा राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी मधेस प्रदेशका प्रवक्ता एवं एसएसपी सुभाष भण्डारीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका कपडा, किराना, हार्डवेयरलगायत दैनिक उपभोग्य वस्तु ठूलो परिमाणमा बरामद भएका छन्। यस्तै, तेस्रो मुलुकबाट आयात गरी नेपाल हुँदै अवैध रूपमा भारत लैजान खोजिएको बहुमूल्य तरबुजाको बीउसमेत नियन्त्रणमा लिइएको छ।
सीमावर्ती नाकामा निगरानी बढाइएपछि तस्करहरूले अपनाउँदै आएका नयाँ–नयाँ शैलीसमेत असफल हुँदै गएको एसएसपी भण्डारीले बताए।
मधेस प्रदेशमा डीआईजी विष्णुप्रसाद भट्टले कमान्ड सम्हालेपछि सीमा क्षेत्रमा चोरी–तस्करी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि ‘शून्य सहनशीलता’ नीति अघि सारिएको छ। उनको नेतृत्वमा सीमा क्षेत्रमा नियमित गस्ती, गुप्तचर परिचालन तथा आकस्मिक जाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा सुरक्षालाई कडाइ गर्ने क्रममा तस्करसँग अनैतिक साँठगाँठ गर्ने वा आर्थिक प्रलोभनमा पर्ने कर्मचारीमाथिसमेत आन्तरिक कारबाही अघि बढाइएको छ। संगठनको नीति र आचरणविपरीत काम गर्ने जुनसुकै तहका कर्मचारीलाई कडा कारबाही गरिने डीआईजी भट्टले चेतावनी दिएका छन्।
पछिल्लो समय सीमावर्ती जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति र सक्रियता बढेसँगै अवैध कारोबारमा कमी आएको प्रहरीको दाबी छ। सीमा सुरक्षामा कडाइसँगै भन्सार राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्न थालेको भन्दै स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी तथा सुरक्षा क्षेत्रका जानकारहरूले सशस्त्र प्रहरीको सक्रियताको सकारात्मक मूल्याङ्कन गर्न थालेका छन्।




