काठमाडौं,२८ साउन । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ।
जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवामाथि सार्वजनिक रूपमा उठेका विभिन्न प्रश्न र आरोपबारे निष्पक्ष तथा पारदर्शी छानबिन गर्न माग गरिएको छ। वक्तव्यमा वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायतका प्रकरणसमेत उल्लेख गर्दै अनुसन्धानबाट दोषी ठहरिए कानुनअनुसार कारबाही गर्नुपर्ने जनाइएको छ।
‘कानुन सबैका लागि बराबर हो भने देउवालाई विमानस्थलबाटै कानुनबमोजिम नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउनुपर्छ’ भन्ने जेनजीको माग छ।
राजनीतिक संरक्षणका नाममा अनुसन्धान प्रभावित पार्न खोजिए त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत जेनजी पक्षले दिएको छ।
आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उसले पुरानै शैलीको दण्डहीनता दोहोरिए जनविश्वास थप कमजोर हुने जनाएको छ।
देउवा नेपाल फर्किन लागेको भन्दै जेनजी आन्दोलन नेपालले आफ्ना समर्थकलाई बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ। विमानस्थलमा शान्तिपूर्ण रूपमा उपस्थित भएर निष्पक्ष अनुसन्धानका लागि सरकारलाई दबाब दिने जेनजीको भनाइ छ।
यसैबीच, जेनजीको प्रदर्शनलाई ध्यानमा राख्दै विमानस्थल आसपास सुरक्षा व्यवस्था थप कडा बनाउने तयारी गरिएको बताइएको छ। जेनजी पक्षले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने दाबी गर्दै राज्यका तर्फबाट दमन भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।




