काठमाडौँ,२८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
समाचार लेखेको आधारमा पत्रकारलाई पक्राउ गर्नु लोकतान्त्रिक मुलुकका लागि उचित नभएको कोइरालाको भनाइ छ। उनले श्रेष्ठको पक्राउ संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताएका छन्।
कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै यस्ता लोकतन्त्रविरोधी गतिविधि दोहोरिन नदिनसमेत ध्यानाकर्षण गराएका छन्।




