काठमाडौँ,२८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ‘ट्रुथ सोसल’मार्फत सरकारी नीतिसम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरी आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ।
समाचार संस्था एपीका अनुसार ‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’ र ‘द इन्टरसेप्ट’ले संघीय अदालतमा ट्रम्पविरुद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पसँग जोडिएको कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजीले सञ्चालन गर्ने ‘ट्रुथ एपीआई’ सेवामार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट सर्वसाधारण र सञ्चारमाध्यमभन्दा अगाडि उपलब्ध गराउनु असंवैधानिक भएको दाबी गरेका छन्।
मुद्दा दायर गर्ने संस्थाका अनुसार अमेरिकी नीति, युद्ध, भन्सार तथा वित्तीय बजारमा प्रभाव पार्न सक्ने राष्ट्रपतिका पोस्टमा सबैलाई समान समयमा पहुँच उपलब्ध हुनुपर्नेछ। ‘ट्रुथ एपीआई’ सेवाका लागि प्रतिमहिना १ लाख अमेरिकी डलरसम्म शुल्क लिइने दाबी गरिएको छ।
‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’का एड्भोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफैं सार्वजनिक गर्ने सूचनामा प्राथमिक पहुँच बिक्री गरी आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई लाभ पुर्याउनु भ्रष्ट र असंवैधानिक भएको आरोप लगाएका छन्।
यता ट्रम्प मिडियाले भने आरोप अस्वीकार गरेको छ। कम्पनीले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था उद्योगमा सामान्य अभ्यास भएको दाबी गर्दै मुद्दालाई राष्ट्रपति ट्रम्पको अभिव्यक्ति रोक्ने प्रयासका रूपमा व्याख्या गरेको छ।




