वीरगन्ज,२८ साउन । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार बिहान फिजियोथेरापी शिविर सम्पन्न भएको छ। नेपाल मेडिसिटी बयोधा हस्पिटलको आयोजनामा भएको शिविरमा १०० जनाभन्दा बढी महिला तथा पुरुष प्रहरी कर्मचारी सहभागी भएका थिए।
लामो समयसम्म उभिएर वा एउटै अवस्थामा बसेर काम गर्नुपर्ने प्रहरी कर्मचारीमा देखिने शारीरिक समस्या तथा कार्यव्यस्तताका कारण उत्पन्न हुने मानसिक तनाव न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ।
शिविरमा नेपाल मेडिसिटी बयोधा हस्पिटलका वरिष्ठ फिजियोथेरापिस्ट डा. निरुपेन्द्र कुमार कर्णले प्रहरी कर्मचारीलाई विभिन्न शारीरिक व्यायाम गराउनुका साथै दैनिक कामका क्रममा देखिन सक्ने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपायबारे जानकारी दिएका थिए।
डा. कर्णले लामो समयसम्म एउटै अवस्थामा बस्दा वा उभिँदा शरीरका विभिन्न अंगमा असर पर्न सक्ने भन्दै नियमित व्यायाम, सही बसाइ तथा कामको बीचमा आवश्यक शारीरिक गतिविधि गर्न सुझाव दिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईसहित १०० भन्दा बढी प्रहरी कर्मचारीको सहभागिता थियो।
सहभागी प्रहरी कर्मचारीले कार्यव्यस्तताका कारण हुने शारीरिक तथा मानसिक समस्या न्यूनीकरणका लागि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम उपयोगी रहेको बताएका थिए। उनीहरूले प्रहरी कर्मचारीलाई लक्षित गरी नियमित स्वास्थ्य परीक्षण, फिजियोथेरापी तथा शारीरिक–मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल मेडिसिटी बयोधा हस्पिटलले प्रहरी कर्मचारीको स्वास्थ्यप्रति सचेतना बढाउने र कार्यस्थलमा देखिने शारीरिक समस्याको रोकथाममा सहयोग पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




