काठमाडौँ,२८ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ गाउँपालिकामा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत थवाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षापछि गएको पहिरोले घर तथा गोठ पुरिँदा ठूलो क्षति भएको घटनाले आफू मर्माहत भएको बताएका छन्। उनले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
पूर्वी रुकुमसहित मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले विपद् प्रभावितको तत्काल उद्धार, घाइतेको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
उनले अवरुद्ध सडक तत्काल खुलाउन आवश्यक उपकरण परिचालन गर्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग गरेका छन्।




