spot_img

सरकारी अस्पतालमा औषधि र रेबिज खोपको अभावप्रति सांसद चौधरीको आपत्ति

spot_img
spot_img

काठमाडौँ,२८ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थामा औषधि तथा खोपको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद चौधरीले सरकारी अस्पतालमा आवश्यक औषधि र रेबिजविरुद्धको खोपसमेत सहज रूपमा उपलब्ध हुन नसकेको बताइन्।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क उल्लेख गर्दै उनले नेपालमा करिब २४.९ प्रतिशत नागरिकले उपचारका क्रममा आफ्नै खल्तीबाट खर्च गर्नुपर्दा आर्थिक कठिनाइ भोगिरहेको बताइन्। सरकारी स्वास्थ्य संस्थामा औषधि खरिद प्रक्रिया समयमै अघि नबढ्दा गर्भवती, सुत्केरी तथा किशोरीका लागि आवश्यक आइरन चक्की र रेबिजविरुद्धको खोपको अभाव देखिएको उनको भनाइ थियो।

मधेस प्रदेशमा गर्मी तथा वर्षायामसँगै सर्पदंशको जोखिम बढेको उल्लेख गर्दै चौधरीले प्रदेशका अस्पताल तथा उपचार केन्द्रमा उपलब्ध एन्टिस्नेक भेनमको मौज्दातबारे स्पष्ट विवरण सार्वजनिक गर्न सरकारसँग माग गरिन्।

उनले सर्पदंशका गम्भीर बिरामीको उपचारका लागि भेन्टिलेटर, क्रिटिकल केयर सेवा तथा दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्नसमेत आग्रह गरिन्। एन्टिस्नेक भेनमको अभावका कारण एउटा स्वास्थ्य केन्द्रमा औषधि सकिएपछि अर्को केन्द्रबाट ल्याउनुपर्ने अवस्था रहेको भन्दै उनले यसबाट बिरामीको ज्यान जोखिममा पर्न सक्ने बताइन्।

सांसद चौधरीले नेपालको विविधता, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सरकार तथा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा समेत जोड दिइन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय