बीरगन्ज,२८ साउन । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन वा परिवर्तन नगर्ने जनाएको छ।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बिहान ९ बजेदेखि सरकारी कार्यालय सञ्चालन गर्ने व्यवस्थाले सार्वजनिक सेवा प्रवाह सहज र प्रभावकारी बनेको दाबी गरिन्।
प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले कार्यालय बिहानै खुल्दा सेवाग्राहीले दिनको सुरुवातमै सरकारी निकायबाट सेवा लिन पाउने भएकाले समय व्यवस्थापनमा समेत सहयोग पुगेको बताइन्।
राष्ट्रियसभा सदस्यहरूले भने सातामा दुई दिन सार्वजनिक बिदा हुँदा शिक्षा, व्यापार तथा सरकारी सेवा प्रभावित भएको भन्दै पुरानै एक दिन बिदा प्रणालीमा फर्किनुपर्ने धारणा राखेका थिए।
सरकारले सांसदहरूबाट आएका सुझाव र चासोलाई अध्ययनको दायरामा राख्ने जनाएको छ। तर, हाल कायम दुई दिन सार्वजनिक बिदाको व्यवस्था तत्काल पुनरावलोकन वा परिवर्तन गर्ने विषयमा कुनै गृहकार्य अघि नबढाइएको मन्त्री गौतमले स्पष्ट पारिन्।
उनका अनुसार दुई दिन सार्वजनिक बिदा र बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने व्यवस्थाले कर्मचारीको कार्य–जीवन सन्तुलन कायम गर्न सहयोग पुगेको छ। यसबाट कर्मचारीको कामप्रतिको उत्प्रेरणा, क्षमता तथा समग्र कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव परेको सरकारको निष्कर्ष रहेको उनले बताइन्।




