वीरगन्ज,२८ साउन । मधेश प्रदेशमा सर्पदंशका बिरामीका लागि आवश्यक एन्टीभेनमको अभावको समस्या कायमै रहेका बेला रेबिजविरुद्धको खोपसमेत सहज रूपमा उपलब्ध हुन छाडेको छ। सरकारी स्वास्थ्य संस्थामा नियमित आपूर्ति नहुँदा विशेषगरी न्यून आय भएका तथा विपन्न परिवार उपचार खर्चको दोहोरो भारमा परेका छन्।
कुकुर, स्याललगायत रेबिजको जोखिम भएका जनावरले टोकेपछि लगाउनुपर्ने एन्टीरेबिज भ्याक्सिन (एआरभी) सरकारी स्वास्थ्य संस्थामा नपाउँदा बिरामी निजी स्वास्थ्य संस्था वा अन्य जिल्लासम्म पुग्न बाध्य भएका छन्। निजी क्षेत्रबाट महँगो मूल्यमा खोप खरिद गर्नुपर्ने भएपछि आर्थिक रूपमा कमजोर परिवार थप समस्यामा परेका छन्।
पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा मात्रै दैनिक २० देखि ३० जनासम्म रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन्। तर अस्पतालमा करिब एक महिनादेखि खोपको मौज्दात छैन। पर्सासहित बारा, रौतहट र सीमावर्ती भारतीय क्षेत्रबाट समेत बिरामी खोप लगाउन नारायणी अस्पताल पुग्ने गरेका छन्।
अस्पतालका रेबिज फोकल पर्सन प्रह्लाद साहका अनुसार नारायणी अस्पतालमा मासिक करिब ५ सयदेखि ६ सय भाइल खोप खपत हुन्छ। यसअघि पनि अस्पतालमा करिब तीन महिनासम्म खोप अभाव भएको थियो। पछिल्लो पटक आएको खोप सकिएको एक महिना बितिसक्दा पनि नयाँ आपूर्ति हुन नसकेको उनले बताए।
सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि निजी स्वास्थ्य संस्थाबाट खरिद गर्नुपर्दा एक भाइलका लागि करिब ६५० रुपैयाँसम्म खर्च हुने गरेको छ। जोखिमको अवस्था हेरेर एकभन्दा बढी मात्रा लगाउनुपर्ने भएकाले निजी क्षेत्रबाट खोप खरिद गर्दा विपन्न परिवारको खर्च अझ बढ्ने गरेको अस्पतालले जनाएको छ।
मधेश प्रदेशको प्रादेशिक अस्पताल जनकपुरमा भने पछिल्ला केही महिनादेखि रेबिज खोपको अभाव नरहेको अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहले बताएका छन्। उनका अनुसार यसअघि भने करिब नौ महिनासम्म अस्पतालमा खोप अभाव भएको थियो।
मधेशका अन्य जिल्लाका सरकारी स्वास्थ्य संस्थामा खोपको उपलब्धता कमजोर रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। संघीय सरकारको खरिद तथा आपूर्ति प्रणालीमा निर्भर रहनुपर्ने भएकाले प्रदेश र स्थानीय तहले मागअनुसार समयमा खोप प्राप्त गर्न नसक्दा समस्या हुने गरेको उनीहरू बताउँछन्।
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क वा सहुलियतमा पाइने खोप नियमित उपलब्ध नहुँदा दैनिक ज्यालादारी, न्यून आय भएका तथा ग्रामीण क्षेत्रका परिवार निजी स्वास्थ्य संस्थामा महँगो मूल्यमा खोप किन्न बाध्य भएका छन्।
चिकित्सकहरूले रेबिजको जोखिमलाई सामान्य रूपमा नलिन सुझाव दिएका छन्। रेबिज शंकास्पद जनावरले टोकेपछि घाउको अवस्था र जोखिमअनुसार चिकित्सकको सल्लाहमा निर्धारित समयमा खोपको पूरा मात्रा लगाउनुपर्ने उनीहरूको भनाइ छ।
जनावरले टोकेलगत्तै घाउलाई साबुनपानीले राम्ररी सफा गरी तत्काल स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्श लिन चिकित्सकहरूले सुझाव दिएका छन्। रेबिजका लक्षण देखिइसकेपछि रोग अत्यन्त घातक हुने भएकाले खोपमा ढिलाइ गर्नु जोखिमपूर्ण हुन सक्छ।
सर्पदंशका लागि आवश्यक एन्टीभेनम र जनावरको टोकाइपछि प्रयोग हुने रेबिज खोपजस्ता अत्यावश्यक औषधि तथा खोपमा बारम्बार देखिने अभावले सरकारी स्वास्थ्य सेवाको आपूर्ति प्रणालीमाथि प्रश्न उठाएको छ।
नेपालले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। यस्तो लक्ष्य हासिल गर्न नियमित खोप मौज्दात, प्रभावकारी वितरण प्रणाली र स्थानीय तहसम्म सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।
विशेषगरी खुला सीमाना, बाक्लो बस्ती र ठूलो जनसंख्या रहेको मधेश प्रदेशमा रेबिज खोपको अभाव लामो समय रहन नदिन संघीय, प्रदेश र स्थानीय सरकारबीच तत्काल समन्वय गरी आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने नागरिक समाजका अगुवाहरूको माग छ।




