काठमाडौं,२८ साउन । प्रहरी कार्यालय तथा हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी क्यामेरा सञ्चालन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
कानुनका विद्यार्थी विवेक चौधरीसहितले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको छ।
रिट निवेदकहरूले प्रहरी कार्यालय र हिरासत कक्षमा चौबिसै घण्टा निगरानी हुने गरी सीसीटीभी जडान गर्न सरकारका नाममा परमादेश जारी गर्न माग गरेका छन्। सीसीटीभीमा नाइट भिजनसहित अडियो तथा भिडियो दुवै रेकर्ड हुने प्रविधि अनिवार्य गर्नुपर्ने माग पनि गरिएको छ।
त्यस्तै, हिरासतमा रहेका व्यक्तिको सुरक्षा तथा घटनाको प्रमाण सुरक्षित राख्ने उद्देश्यले सीसीटीभी फुटेज कम्तीमा एकदेखि डेढ वर्षसम्म सुरक्षित रहने कानुनी व्यवस्था गर्न पनि रिटमा माग गरिएको छ।
रिटमा सीसीटीभी फुटेजलाई आवश्यक पर्दा अनुसन्धान तथा न्यायिक प्रक्रियामा प्रमाणका रूपमा प्रयोग गर्न सकिने गरी सुरक्षित राख्ने व्यवस्था गर्नसमेत सरकारलाई निर्देशन दिन माग गरिएको छ।




