जनकपुर,२८ साउन । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद, पहुँच र प्रभावको दुरुपयोग गरी आफूहरूलाई मिटरब्याज तथा ठगी मुद्दामा फसाएको पीडित पक्षले आरोप लगाएको छ।
मिटरब्याज तथा ठगीको आरोपमा गत साउन २ गते पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साहका आफन्तले बिहीबार जिल्ला अदालत जनकपुरधामअगाडि प्रदर्शन गर्दै न्यायको माग गरेका हुन्।
प्रदर्शनका क्रममा रेखा साहका छोरा जयराम साहले पूर्वएसएसपी गोविन्द साहले आफ्नो प्रभाव र पहुँच देखाउँदै परिवारका सदस्यलाई फसाएको आरोप लगाए। उनका अनुसार करिब पाँच वर्षअघि गोविन्दले आफैं बिक्री गरेको जग्गा पुनः फिर्ता लिन खोज्ने क्रममा मिटरब्याज तथा ठगीको आरोप लगाएर आफ्नी आमासहित आफन्तलाई पक्राउ गराइएको हो।
जयरामले बिक्री भएको जग्गा आफूहरूले कानुनी प्रक्रिया पूरा गरेर खरिद गरेको दाबी गर्दै त्यससम्बन्धी कागजात आफूसँग सुरक्षित रहेको बताए। उनका अनुसार उक्त कागजातमा पूर्वएसएसपी गोविन्द साहकी श्रीमती र छोराको समेत मन्जुरी सनाखत रहेको छ।
मूल सडक विस्तार भएपछि बाँकी जग्गाको मूल्य बढेको र त्यसपछि पूर्वएसएसपी साहले पाँच वर्षअघि बिक्री गरेको जग्गामा पुनः दाबी गर्न थालेको जयरामको आरोप छ। यही विवादलाई लिएर आफ्नी आमालाई मिटरब्याज तथा ठगी मुद्दामा फसाइएको उनले बताए।
उनले अदालतप्रति आफूहरूको पूर्ण सम्मान रहेको भन्दै निष्पक्ष न्यायको अपेक्षा गरेको बताए। पक्राउ परेको २५ दिन बितिसक्दा पनि म्याद थप गरेर हिरासतमा राखिएकोप्रति आपत्ति जनाउँदै उनले परिवारका सदस्यलाई कानुनी प्रक्रियाअनुसार बाहिर रहेर मुद्दा लड्ने वातावरण बनाउन आग्रह गरे।
यसैबीच, पूर्वएसएसपी गोविन्द साहले भने आफूले चुनाव लड्ने प्रयोजनका लागि २०७९ साल वैशाखमा रेखा साहसँग जग्गा धितो राखी ९९ लाख रुपैयाँ ऋण लिएको दाबी गर्दै आएका छन्। ऋण चुक्ता गरेपछि जग्गा फिर्ता लिन जाँदा आफ्नो जग्गा अर्कै व्यक्तिको नाममा पास भइसकेको थाहा पाएपछि आफूले मिटरब्याज तथा ठगीसम्बन्धी उजुरी दिएको साहले केही दिनअघि पत्रकार सम्मेलनमार्फत बताएका थिए।
जग्गा कारोबार र त्यससँग जोडिएको आर्थिक लेनदेनलाई लिएर दुवै पक्षले एकअर्कामाथि आरोप लगाइरहेका छन्। घटनाबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले यसको अन्तिम टुंगो न्यायिक प्रक्रियाबाट लाग्नेछ।




