बीरगन्ज,२८ साउन । पर्साको पोखरिया प्रादेशिक अस्पतालमा करिब एक वर्षदेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि पुग्ने बिरामी तथा सेवाग्राही मर्कामा परेका छन्। अस्पतालको टोकन मेसिनसमेत ६ महिनाभन्दा बढी समयदेखि बिग्रिएर सञ्चालनमा नआएपछि अस्पतालमा भीडभाड र सेवा लिन थप झन्झट हुने गरेको छ।
अस्पतालमा रहेको एक्स–रे मेसिन लामो समयदेखि सञ्चालनमा नहुँदा सामान्यदेखि आकस्मिक अवस्थाका बिरामीसमेत परीक्षणका लागि निजी तथा अन्य स्वास्थ्य संस्थामा जान बाध्य छन्। अस्पतालमै सहुलियत वा निःशुल्क रूपमा पाउनुपर्ने सेवा बाहिरबाट महँगो शुल्क तिरेर लिनुपर्दा बिरामीको उपचार खर्चसँगै समयसमेत बढेको सेवाग्राहीको गुनासो छ।
स्थानीय सेवाग्राही मालती देवीका अनुसार सरकारी अस्पतालमा आउने अधिकांश बिरामी आर्थिक रूपमा कमजोर हुने भएकाले आवश्यक परीक्षण अस्पतालमै उपलब्ध नहुँदा उनीहरूलाई थप आर्थिक भार परेको छ।
स्थानीयका अनुसार पोखरिया अस्पतालमा एक्स–रे सेवा विगतमा पनि पटक–पटक लामो समय अवरुद्ध हुँदै आएको थियो। प्रयोगशाला सेवा लामो समय बन्द रहेको विषयसमेत यसअघि सार्वजनिक भएको थियो। सेवा सञ्चालनमा नरहेको अवस्थामा सम्बन्धित शाखाका केही कर्मचारीले जोखिम भत्ता लिएको विषयसमेत चर्चामा आएको थियो।
अस्पतालको सेवा व्यवस्थापन सहज बनाउन राखिएको टोकन मेसिन पनि ६ महिनाभन्दा बढी समयदेखि बिग्रिएको कर्मचारीहरूले बताएका छन्।
मेसिन सञ्चालनमा हुँदा सेवाग्राहीले टोकन नम्बरका आधारमा आफ्नो पालोअनुसार उपचार सेवा लिन पाउने गरेका थिए। तर मेसिन बिग्रिएपछि बिरामी तथा सेवाग्राही एकै ठाउँमा जम्मा हुने र लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको सेवाग्राही रमेश साहले बताए।
दैनिक ठूलो संख्यामा बिरामी आउने अस्पतालमा टोकन प्रणाली प्रभावकारी रूपमा सञ्चालन नहुँदा उपचार सेवामा समेत अव्यवस्था बढेको उनको भनाइ छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. आनन्द रौनियारले बिग्रिएका उपकरण मर्मत गरी बन्द रहेका सेवा पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।
उनका अनुसार अस्पतालमा बिग्रिएका उपकरणको मर्मत तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ। उनले एक साताभित्र एक्स–रे, टोकन मेसिनलगायत बन्द रहेका सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
लामो समयदेखि आधारभूत स्वास्थ्य सेवा अवरुद्ध हुँदा सेवाग्राहीले अस्पताल व्यवस्थापनको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। उनीहरूले बिग्रिएका उपकरण तत्काल मर्मत गरी अस्पतालबाटै नियमित र प्रभावकारी सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।




