काठमाडौं,२८ साउन । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले स्वास्थ्य उपचारमा ९० प्रतिशतसम्म सहुलियत पाउने व्यवस्था भए पनि पर्याप्त जानकारीको अभाव र झन्झटिलो प्रक्रियाका कारण ठूलो संख्यामा विद्यार्थी यो सुविधाबाट वञ्चित हुने गरेका छन्।
त्रिविले वर्षौंदेखि सञ्चालन गर्दै आएको ‘विद्यार्थी स्वास्थ्य उपचार कोष’ अधिकांश विद्यार्थीका लागि अझै प्रभावकारी रूपमा पहुँचमा आउन सकेको छैन। क्याम्पस भर्नाका क्रममा स्वास्थ्य उपचार कोषका लागि शुल्क तिर्ने गरे पनि त्यसबाट प्राप्त हुने सुविधा र सेवा लिन अपनाउनुपर्ने प्रक्रियाबारे विद्यार्थीलाई पर्याप्त जानकारी नहुँदा उपचारमा सहुलियत लिन समस्या हुने गरेको हो।
त्रिविको ‘विद्यार्थी स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ अनुसार आंगिक क्याम्पस, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र तथा सम्बन्धित शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थी कोषका अनिवार्य सदस्य हुन्छन्। स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले निर्धारित प्रक्रियाबाट उपचारमा सहुलियत लिन पाउँछन्।
क्याम्पसमा भर्ना हुँदा विद्यार्थीबाट स्वास्थ्य उपचार कोषमा जम्मा हुने गरी ५०० रुपैयाँ शुल्क लिइन्छ। स्नातक तथा स्नातकोत्तर तहमा भर्ना तथा तोकिएको सेमेस्टर वा शैक्षिक वर्षमा समेत यस्तो शुल्क लिने व्यवस्था छ।
तर आफूले तिरेको रकमबाट कस्तो सुविधा पाइन्छ र त्यसका लागि कहाँ सम्पर्क गर्नुपर्छ भन्नेबारे धेरै विद्यार्थी अनभिज्ञ छन्। यही कारण बिरामी पर्दा उनीहरू निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य हुने गरेका छन्।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार निर्धारित प्रक्रिया पूरा गरी उपचार गराउँदा स्वीकृत उपचार खर्चको ९० प्रतिशतसम्म कोषले व्यहोर्ने व्यवस्था छ। पछिल्लो निर्णयअनुसार उपचार खर्चको अधिकतम सीमा एक लाख रुपैयाँसम्म रहेको छ।
सुविधा लिन विद्यार्थीले सुरुमा सम्बन्धित क्याम्पसमा निवेदन दिनुपर्छ। त्यसपछि क्याम्पसले त्रिविको सम्बन्धित निर्देशनालयमा सिफारिसका लागि अनुरोध गर्छ। निर्देशनालयले अस्पताललाई सिफारिस गरेपछि मात्रै उपचार सहुलियतको प्रक्रिया अघि बढ्छ।
सिफारिस स्वीकृत भएपछि औषधि र खानाको खर्चबाहेक स्वीकृत उपचार खर्चमा ९० प्रतिशतसम्म सहुलियत पाइन्छ। उपचारका क्रममा सिफारिस लिन नसकेका विद्यार्थीले अस्पतालबाट डिस्चार्ज भएको एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी सुविधा लिन सक्ने व्यवस्था पनि छ।
सिफारिसपत्रको प्रतिलिपि र वैध विद्यार्थी परिचयपत्रको दुई प्रति फोटोकपीसहित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने प्रावधानले पनि विद्यार्थीलाई थप प्रक्रियागत झन्झट हुने गरेको छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर आउने विद्यार्थीलाई सुविधाबाट वञ्चित नगरिए पनि यसबारे जानकारी लिएर आउने विद्यार्थीको संख्या निकै कम छ।
त्रिविको विद्यार्थी स्वास्थ्य उपचार कोषअन्तर्गत देशभरका करिब ६० वटा तोकिएका अस्पतालबाट उपचार सुविधा लिन सकिने व्यवस्था छ। काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद शिक्षण अस्पतालबाट समेत सेवा लिन सकिन्छ।
उपत्यकाबाहिरका आंगिक क्याम्पसले सम्बन्धित जिल्ला अस्पताल वा विद्यार्थीलाई पायक पर्ने अस्पतालसँग सम्झौता गरी सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
तोकिएका अस्पतालमा उपचार सम्भव नभए मेडिकल बोर्डको सिफारिसमा नेपालका अन्य अस्पतालमा तथा आवश्यक अवस्थामा विदेशमा समेत उपचार गराउन सकिने व्यवस्था रहेको त्रिविले जनाएको छ।
कोषबाट सबै प्रकारका उपचार खर्च भने व्यहोर्ने व्यवस्था छैन। गर्भावस्था तथा सुत्केरीसम्बन्धी खर्च, सामान्य स्वास्थ्य परीक्षण, अंग प्रत्यारोपण, कस्मेटिक उपचार, चस्मा तथा लेन्स र श्रवण उपकरण खरिदमा सुविधा उपलब्ध हुँदैन।
क्याम्पसमा भर्ना हुनुअघि नै पहिचान भएको दीर्घरोगको उपचारका लागि विद्यार्थी भर्ना भएको प्रमाणित भएमा पनि यो सुविधा नपाउने व्यवस्था छ।
स्वास्थ्य उपचार कोषबाट सुविधा लिने विद्यार्थीको संख्या पछिल्ला वर्षमा बढेको देखिन्छ। आर्थिक वर्ष २०७५/७६ मा २१९ विद्यार्थीले सुविधा लिएकोमा २०७६/७७ मा १९५ र २०७७/७८ मा १०२ विद्यार्थीले सेवा लिएका थिए।
त्यसपछि २०८०/८१ मा ३८४, २०८१/८२ मा ५७३ र २०८२/८३ मा ५१४ विद्यार्थीले स्वास्थ्य उपचार खर्च लिएका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ९१ विद्यार्थीले यस्तो सुविधा लिइसकेका छन्।
संख्या बढ्दै गए पनि त्रिविमा अध्ययनरत विद्यार्थीको कुल संख्या र उपलब्ध सुविधाको तुलनामा सेवा लिने विद्यार्थी अझै न्यून रहेको त्रिविका अधिकारीहरू बताउँछन्।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सुविधाबारे जानकारी गराउन क्याम्पसहरूलाई पटक–पटक पत्राचार गर्दै आएको जनाएको छ। सूचना बोर्डमा समेत सुविधा र प्रक्रियाबारे जानकारी राख्न निर्देशन दिइए पनि सबै क्याम्पसले प्रभावकारी रूपमा कार्यान्वयन नगरेको गुनासो छ।
त्रिविका प्रवक्ता नवीन भण्डारीले नयाँ विद्यार्थीलाई भर्नासँगै अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य उपचार सुविधाबारे जानकारी गराउनुपर्ने बताए। विद्यार्थीले क्याम्पसबाट सिफारिस लिएर प्रक्रिया अघि बढाउनुपर्ने भएकाले सुविधा कार्यान्वयनमा क्याम्पसको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।
विद्यार्थीबाट स्वास्थ्य उपचारका लागि शुल्क लिने तर त्यसबाट प्राप्त हुने सुविधा र प्रक्रियाबारे पर्याप्त जानकारी नदिँदा उनीहरूले पाउनुपर्ने अधिकारसमेत उपयोग गर्न नसकेको अवस्था देखिएको छ। त्यसैले क्याम्पस तहबाटै सुविधा, उपचार सीमा, सम्बन्धित अस्पताल र आवश्यक कागजातबारे स्पष्ट जानकारी दिँदै सिफारिस प्रक्रिया सरल बनाउनुपर्ने आवश्यकता देखिएको छ।




