काठमाडौं,२८ साउन । अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन्।
बुधबार साँझ गएको पहिरोमा स्थानीय २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तिमगर घाइते भएका छन्। दुवै जनालाई थवाङ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
त्यस्तै, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मणि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसम्बन्धी टोली घटनास्थलतर्फ पठाइएको छ।
लगातार वर्षा भइरहेका कारण लेदोसहितको पहिरो खस्ने क्रम नरोकिँदा खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।
पहिरोले मृतक कमल बहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठ पुरिएका छन्। घरगोठमा रहेका पशुचौपायासमेत बेपत्ता भएको प्रहरीले जनाएको छ। उद्धार टोलीले जोखिमबीच बेपत्ताको खोजी कार्य जारी राखेको छ।




