काठमाडौ,२९ साउन । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा लगाइएको प्रतिबन्ध कार्यान्वयन गर्न मेटाले ७ लाख ५६ हजारभन्दा बढी अकाउन्ट बन्द गरेको छ।
मेटाका अनुसार गत डिसेम्बरदेखि जुनसम्मको अवधिमा नाबालकले सञ्चालन गरेको आशंकामा ती अकाउन्टहरू हटाइएको हो। बन्द गरिएका अकाउन्टमध्ये इन्स्टाग्रामका ४ लाख ६२ हजार र फेसबुकका २ लाख ९४ हजारभन्दा बढी रहेका छन्।
बालबालिका तथा किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव कम गर्ने उद्देश्यले अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको हो।
प्रतिबन्ध लागू भएको सुरुवाती तीन महिनामा ८० प्रतिशतभन्दा बढी नाबालक अझै विभिन्न उपायमार्फत सामाजिक सञ्जालमा सक्रिय रहेको सरकारी तथ्यांक तथा स्वतन्त्र अध्ययनले देखाएका थिए। त्यसपछि मेटाले उमेर पहिचान प्रणालीलाई थप कडा बनाउँदै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग बढाएको जनाएको छ।
मेटाले प्रयोगकर्ताको प्रोफाइलमा उल्लेखित जन्मदिन, विद्यालय वा कक्षासँग सम्बन्धित विवरण तथा अन्य डिजिटल गतिविधिका संकेत विश्लेषण गरी नाबालकका अकाउन्ट पहिचान गर्ने गरेको बताएको छ। बन्द गरिएका अकाउन्टलाई फर्जी विवरण प्रयोग गरी पुनः सञ्चालन गर्न नदिन थप सुरक्षा उपायसमेत अपनाइएको कम्पनीको भनाइ छ।
यसैबीच, अस्ट्रेलियाली सरकारले प्रतिबन्ध उल्लंघन गर्ने प्रविधि कम्पनीमाथि थप कडा कारबाहीको तयारी गरेको छ। प्रस्तावित नयाँ नियमअनुसार उल्लंघन गर्ने कम्पनीलाई अधिकतम ९ करोड ९० लाख अस्ट्रेलियाली डलरसम्म जरिबाना गर्न सकिने व्यवस्था अघि सारिएको छ।
कानुन कार्यान्वयन र बालबालिकाको सुरक्षा सम्बन्धी अपनाइएका उपायबारे जानकारी दिन मेटा, टिकटक, गुगल र स्न्यापच्याटका उच्च अधिकारीहरू अस्ट्रेलियाली संसदीय छानबिन समितिसामु उपस्थित भएर स्पष्टीकरणसमेत दिइरहेका छन्।




