spot_img

अमरेशको प्रश्न : ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ?’

spot_img
spot_img

काठमाडौं,२९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले सरकारको कार्यशैली र पछिल्ला नीतिमाथि गम्भीर प्रश्न उठाउँदै राज्य सञ्चालनमा सुधार आवश्यक रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद सिंहले राज्यका प्रमुख निकायमा बढ्दो राजनीतिक हस्तक्षेप, सुरक्षा निकायप्रतिको व्यवहार, निजी क्षेत्रमाथिको दबाब र परराष्ट्र नीतिसहितका विषयमा सरकारको आलोचना गरेका हुन् ।

सिंहले नेपाली सेना, नेपाल प्रहरी तथा निजामती सेवामाथि राजनीतिक हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै स्थापित राज्य संस्थालाई कमजोर बनाउने काम भइरहेको दाबी गरे । उनका अनुसार यस्ता गतिविधिले राज्य संयन्त्रप्रतिको जनविश्वासमा समेत असर पार्न सक्छ ।

उनले संसद्‌भित्रै जनप्रतिनिधिबाट आउने गैरजिम्मेवार अभिव्यक्तिले संघीय संसद्को गरिमा र मर्यादामाथि प्रश्न उठाएको पनि टिप्पणी गरेका छन् ।

त्यस्तै, व्यवसायीमाथि भइरहेको धरपकड र कारबाहीको शैलीप्रति असन्तुष्टि जनाउँदै सिंहले निजी क्षेत्र त्रसित बनेको बताएका छन् । निजी क्षेत्रमै भयको वातावरण सिर्जना हुँदा लगानी र आर्थिक गतिविधि प्रभावित भएर अर्थतन्त्र थप कमजोर बन्न सक्ने उनको चेतावनी छ ।

सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न गर्दै सिंहले ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ?’ भन्दै सरकारको कार्यदिशामाथि नै प्रश्न उठाएका छन् । उनले राज्यलाई पछाडि धकेल्ने गतिविधि भइरहेको हो कि भन्ने आशंकासमेत व्यक्त गरेका छन् ।

सिंहले नेपालको परराष्ट्र नीति पनि सन्तुलित हुन नसकेको दाबी गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । परराष्ट्र नीतिमा देखिएको असन्तुलन र राष्ट्रिय हितविपरीतका गतिविधिले नेपालको अन्तर्राष्ट्रिय साखमा असर पर्न सक्ने उनको भनाइ छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय