spot_img

बाढीपहिरोले देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध

spot_img
spot_img

बीरगन्ज,२९ साउन । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक भासिने समस्याले देशका विभिन्न प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा ठप्प छन् भने केहीमा आंशिक रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीका अनुसार विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको प्रहरीले जनाएको छ।

पहिरो तथा सडक भासिएका कारण अरनिको राजमार्गका चारकिलो, कोदारी र लिपिङलगायतका खण्डमा यातायात प्रभावित भएको छ। सडक कटानका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडकखण्ड भने पूर्ण रूपमा अवरुद्ध भएको छ।

मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डमा हिलोका कारण आवागमन प्रभावित भए पनि वैकल्पिक मार्गबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, भेरी करिडोर, मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व र लमजुङका विभिन्न खण्ड, बेँसीसहर–मनाङ तथा बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएका छन्।

विभिन्न सडकखण्ड अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीको आवागमन प्रभावित भएको छ। प्रहरीले वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय