काठमाडौँ,२९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार तथा मेरुदण्ड भएको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै सभामुख अर्यालले विदेशी मुद्रा आर्जनका साथै रोजगारी र आर्थिक गतिविधि विस्तारमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले पर्यटन उद्योगको दिगो विकासका लागि सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। पर्यटन क्षेत्रका नीतिगत तथा संरचनागत समस्या समाधान गर्न सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले पर्यटन व्यवसायको विकासमा नाट्टालगायतका व्यावसायिक संस्थाले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए। पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने उनले उल्लेख गरे।
उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपाल पर्यटन बोर्डले पनि पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा थप जिम्मेवार तथा प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए।




