spot_img

कांग्रेस बलियो बनाउन संस्थागत एकता आवश्यक छ : उपसभापति शर्मा

spot_img
spot_img

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई बलियो र प्रभावकारी बनाउन संस्थागत एकता अपरिहार्य रहेको बताएका छन्। उनले लोकतान्त्रिक व्यवस्था सुदृढ गर्दै मुलुकको समुन्नतिको यात्रालाई अघि बढाउन कांग्रेसभित्रको आन्तरिक एकता महत्वपूर्ण हुने बताए।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै मुलुकको आवश्यकतासँग जोडिएको विषय भएको उल्लेख गरे।

पार्टीभित्र विभिन्न मत र प्रतिकूल परिस्थिति देखिए पनि त्यसलाई व्यवस्थापन गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशनमा व्यक्त भएका नेता–कार्यकर्ताको भावना र दृढताका आधारमा कांग्रेस आगामी दिनमा अझ सशक्त बन्ने उनको विश्वास थियो।

शर्माले पार्टीका नेता तथा कार्यकर्ताबीचको व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै व्यक्ति भन्दा संस्था र पार्टीको सिद्धान्तप्रतिको निष्ठा महत्वपूर्ण हुने बताए।

‘व्यक्ति र संस्थाप्रतिको निष्ठामध्ये छनोट गर्नुपर्दा पार्टी र देशलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न सबै साथीहरूलाई आग्रह गर्दछु।’

उनले पार्टीभित्रको आन्तरिक विषयमा संयम र परिपक्वता देखाउन आफूहरूले जेठ १६ गते नै सातबुँदे लिखित प्रस्ताव नेताहरूसमक्ष पठाएको बताए। उक्त प्रस्ताव त्यतिबेला गोप्य राखिए पनि पछि जेठ ३१ गते सार्वजनिक गरिएको उनले स्पष्ट पारे।

गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकसम्बन्धी निर्णय सदर गर्दै रिट खारेज गरेको विषयलाई कसैको जित वा हारका रूपमा लिन नहुने शर्माको भनाइ थियो।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व गगन थापाको नेतृत्वमा कांग्रेसले सबल राष्ट्रिय शक्तिका रूपमा भूमिका निर्वाह गर्नेमा आफू पूर्ण रूपमा दृढ रहेको उनले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय