spot_img

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

spot_img
spot_img

धनगढी,२९ साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएपछि भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा र नेकपा एमालेका प्रदेशसभा सदस्यहरूको समर्थन रहेको छ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए। तोकिएको समयभित्रै भट्टले एमालेको समर्थनसहित दाबी पेस गरेका थिए।

भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहणको तयारी गरिएको नेकपाका एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन्। मुख्यमन्त्री भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

नेकपा र एमालेबीच यसअघि नै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालय भागबन्डा टुंगिएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व पाउनेछन्।

एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको स्रोतले जनाएको छ।

यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय