सिरहा,२९ साउन । सिरहाको विष्णुपुर गाउँपालिकाले निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै प्रशासकीय अधिकृत भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई ठेक्का अन्त्य गर्नुअघि १५ दिने स्पष्टीकरण सोधेको छ।
गाउँपालिकाले शुक्रबार पहिलोपटक सार्वजनिक सूचना जारी गर्दै विकास/राम जानकी जे.भीलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको हो। तोकिएको अवधिमा उचित जवाफ नदिए वा निर्माण कार्यलाई तीव्रता नदिए ठेक्का सम्झौता अन्त्य गर्ने चेतावनी गाउँपालिकाले दिएको छ।
गाउँपालिकाका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा निर्माण कार्य अघि बढाउन आग्रह गरिए पनि कामको प्रगति अत्यन्त न्यून छ। संशोधित कार्यतालिका, माइलस्टोन तथा कामको प्राथमिकताअनुसार निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीको तर्फबाट अपेक्षित सक्रियता र तदारुकता नदेखिएको गाउँपालिकाको भनाइ छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२क) बमोजिम ठेक्का अन्त्य किन नगर्ने भन्ने विषयमा सम्झौताको मर्म र कानुनी प्रावधानअनुसार स्पष्ट प्रमाण तथा आधारसहित जवाफ पेस गर्न गाउँपालिकाले भनेको छ।
साथै, स्पष्टीकरण पेस गर्ने १५ दिनको अवधिभित्रै बाँकी निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनसमेत निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ।
तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा वा निर्माण कार्यमा सुधार नदेखिएमा सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली तथा सम्झौताको शर्तबमोजिम ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।




