काठमाडौँ,२९ साउन । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा विभिन्न पदका लागि छ जना विशेषज्ञ जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले साउन २९ गते सूचना जारी गर्दै रिक्त पदमा पदपूर्ति गर्न सिटिभिएस, प्याथोलोजी, एनेस्थेसिया र मेडिकल सर्जिकल नर्सिङ विभागका लागि आवेदन खुलाएको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
सूचनाअनुसार सिटिभिएस विभागमा एक, प्याथोलोजीमा दुई, एनेस्थेसियामा दुई र मेडिकल सर्जिकल नर्सिङ विभागमा एक जना जनशक्ति माग गरिएको छ। उम्मेदवारको योग्यता तथा अनुभवका आधारमा प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर वा लेक्चरर पदमा नियुक्ति गरिने प्रतिष्ठानले जनाएको छ।
चिकित्सकतर्फ सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित परिषद्मा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्नेछ। नर्सिङतर्फ भने सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको योग्यता तोकिएको छ।
उमेरको हकमा प्रोफेसर र एसोसिएट प्रोफेसर पदका लागि ७० वर्ष ननाघेको तथा असिस्टेन्ट प्रोफेसर र लेक्चररका लागि ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
प्रतिष्ठानले प्रोफेसर र एसोसिएट प्रोफेसर पदका लागि परीक्षा दस्तुर एक हजार पाँच सय तथा असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदका लागि एक हजार दुई सय रुपैयाँ तोकेको छ। उम्मेदवारले भानुचोकस्थित लक्ष्मी सनराइज बैंकमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरी सोको भौचर आवेदनसँग पेस गर्नुपर्नेछ।




