जनकपुर,२९ साउन । भारतको झारखण्डमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट भारतको देवघरस्थित बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजा गरेर नेपाल फर्किने क्रममा शुक्रबार झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोडनजिक बस दुर्घटनामा परेको हो।
तीर्थयात्री सवार बस र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना १२ वर्षीय बालक रहेको बताइएको छ भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका करिब ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि भारतीय स्थानीय प्रशासन तथा प्रहरीले उद्धार र अनुसन्धानको काम अघि बढाएको छ। मृतक तथा घाइते नेपालीको थप विवरण संकलन भइरहेको जनाइएको छ।




