spot_img

बाबाधाम दर्शन गरेर फर्किँदा बस दुर्घटना हुँदा रौतहटका ३ तीर्थयात्रीको मृत्यु

spot_img
spot_img

रौतहट,२९ साउन । भारतको झारखण्डमा रौतहटबाट बाबा बैद्यनाथ र बासुकीनाथ दर्शनका लागि गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ४५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

गरुडा नगरपालिका–६ पोठीयाही गाउँबाट तीर्थयात्रामा गएका यात्रुहरू दर्शन सकेर राजगीरतर्फ फर्किने क्रममा शुक्रबार झारखण्डको कोडरमा जिल्लास्थित पोखरडिहा मोडनजिक बस र ट्रक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मृत्यु हुनेमा पोठीयाहीका नवल चौधरी, उनकी श्रीमती र स्थानीय राजेश महतोका १४ वर्षीय छोरा शिवम महतो रहेको वडाध्यक्ष रामबाबु चौधरीले जानकारी दिएका छन्। दुर्घटनाका बेला बसमा चालक तथा कर्मचारीसहित करिब ५० जना सवार रहेको बताइएको छ।

वडाध्यक्ष चौधरीका अनुसार पोठीयाही गाउँबाट मात्रै ४७ जना तीर्थयात्राका लागि भारत गएका थिए। उनीहरू बुधबार बाबा बैद्यनाथ र बासुकीनाथ दर्शनका लागि प्रस्थान गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनालगत्तै सदगावा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइतेमध्ये अधिकांशलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पनि भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। घटनाबारे भारतीय सुरक्षा अधिकारीहरूमार्फत थप विवरण संकलन भइरहेको उनले बताए।

दुर्घटनामा घाइते तथा मृतकको थप विवरण संकलन र समन्वयका लागि सम्बन्धित निकायसँग सम्पर्क भइरहेको प्रशासनले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय