spot_img

व्यावसायिक संस्थामा राजनीति नगरौँ, पर्यटन विकासमा केन्द्रित बनौँ : सभामुख अर्याल

spot_img
spot_img

काठमाडौं,२९ साउन । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थाहरूलाई राजनीतिक गतिविधि र व्यक्तिगत स्वार्थबाट टाढा राख्दै सम्बन्धित क्षेत्रको विकास र व्यवसायिक हितमा केन्द्रित हुन आग्रह गरेका छन्।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्यालले नाट्टा विशुद्ध व्यावसायिक संस्था भएकाले राजनीतिक विवादमा अल्झिन नहुने बताएका हुन्। पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्द्धन र व्यवसायीको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा पहिलो आवश्यकता सुरक्षा रहेको उल्लेख गर्दै हवाई सेवा, ट्याक्सी, होटललगायत पर्यटनसँग जोडिएका सबै क्षेत्रमा सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने बताए। सुरक्षा पछि सेवाको गुणस्तर, व्यवहार र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उनले बताए।

पर्यटन क्षेत्रको सुधारका लागि सरकार, व्यवसायी र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै अर्यालले आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्न आग्रह गरे।

उनले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्कको आवश्यकता औँल्याउँदै अहिले उपलब्ध संरचना र सञ्चालनमा रहेका बसपार्कलाई प्रभावकारी रूपमा प्रयोग गरी पर्यटक बसका लागि निश्चित स्थान तोक्नुपर्ने बताए।

पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त छलफल र बहस आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी ५० वर्षलाई ध्यानमा राखेर दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताए। पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई आकर्षित गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार अपरिहार्य रहेको पनि बताए। उनले अहिलेको संरचनाबाट मात्रै नेपाल एयरलाइन्सलाई सक्षम बनाउन नसकिने धारणा राखे।
विश्वका विभिन्न एयरलाइन्स कम्पनीहरू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै अर्यालले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको दीर्घकालीन विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय