spot_img

४३ वर्षदेखि फरार ज्यान मुद्दाका अभियुक्त ८० वर्षीय यादव पक्राउ

spot_img
spot_img

लहान,२९ साउन । ज्यानसम्बन्धी मुद्दामा ४३ वर्षदेखि फरार रहेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाइ यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवलाई बिहीबार खरुक्याहीस्थित शिव मन्दिरबाट पक्राउ गरिएको हो। साधुको भेषमा मन्दिरमा बस्दै आएका यादवलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०४१ साल वैशाख १ गते स्थानीय मन्दिरमा बोका चढाउने विषयमा भएको विवादका क्रममा साविक खरुक्याही गाविस–४ का राजेन्द्र यादवमाथि समूहगत कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते राजेन्द्रको मृत्यु भएको घटनामा हत्या योजनामा ठकाइ यादवको संलग्नता रहेको प्रहरी अभिलेखमा उल्लेख छ।

जिल्ला अदालत सिरहाले २०४६ साल पुस २५ गते यादवलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको थियो। सजाय तोकिएपछि उनी फरार रहँदै आएका थिए।

प्रहरीका अनुसार यादवले लामो समयदेखि साधुको भेषमा विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। अदालतबाट सजाय तोकिएका फरार अभियुक्तहरूको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सिरहामा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय