काठमाडौं,२९ साउन । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न कडा निर्देशन दिएको छ।
निगमले बिहीबार जारी गरेको सूचनामा बजार अनुगमनका क्रममा केही व्यावसायिक प्रतिष्ठानले ठूलो परिमाणमा ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको जनाएको छ। यसरी अत्यधिक मौज्दात राख्दा सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको निगमको भनाइ छ।
निगमका अनुसार हाल विगतको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा वितरण भइरहेको छ। आपूर्ति बढाइए पनि बजारमा ग्यास सहज उपलब्ध नभएको गुनासो आएपछि निगमले अनुगमनलाई तीव्र बनाएको हो।
निगमले व्यावसायिक प्रतिष्ठानमा अनावश्यक रूपमा मौज्दात रहेका सिलिन्डर तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री गर्न आग्रह गरेको छ।
सूचनाविपरीत ग्यास सिलिन्डर लुकाएर वा आवश्यकताभन्दा बढी मौज्दात राखेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ।
यसअघि निगमले गत असार ३१ गतेदेखि बजारमा भरपूर मात्रामा ग्यास सिलिन्डर आपूर्ति गर्दै आएको जनाएको थियो। बजारमा कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने निगमको भनाइ छ।




