काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी १५औँ महाधिवेशनबाट गगन थापालाई अत्यधिक मतसहित पार्टी सभापति बनाउने दाबी गरेका छन्।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले थापाको पक्षमा ५१ प्रतिशत मात्र नभई ७१ प्रतिशत मत जुटाएर सभापति बनाउने प्रतिबद्धता व्यक्त गरे।
शर्माले कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै हुने स्पष्ट पार्दै महाधिवेशन सार्ने कुनै सम्भावना नरहेको बताए। उनका अनुसार आगामी असोजमै महाधिवेशन सम्पन्न गरिनेछ।
उनले कांग्रेसले विधि र प्रक्रियामार्फत परिवर्तनको बाटो समातेको उल्लेख गर्दै पार्टी नेतृत्वमा युवालाई अघि बढाउनुपर्नेमा जोड दिए। देशमा ३६ वर्षको युवा प्रधानमन्त्री बन्न सक्ने अवस्था निर्माण भइसकेकाले करिब ५० वर्ष उमेर समूहका युवाले पार्टी नेतृत्व सम्हाल्नु पनि स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो।
शर्माको अभिव्यक्तिले कांग्रेसको आगामी महाधिवेशनमा युवा नेतृत्व र गगन थापाको नेतृत्व दाबीलाई थप बलियो बनाउने संकेत गरेको छ।




