वीरगञ्ज,२९ साउन । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा नवनिर्मित श्री गणेश जी महाराजको मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा शुक्रबार भव्य कलश यात्रा निकालिएको छ।
हजारौँ श्रद्धालु भक्तजन, महिला तथा बालबालिकाको सहभागितामा निकालिएको कलश यात्राले श्रीपुर क्षेत्रलाई दिनभर धार्मिक तथा भक्तिमय बनाएको थियो। सनातन धर्म परम्पराअनुसार शुभकार्य तथा धार्मिक अनुष्ठानअघि विघ्नहर्ता भगवान् गणेशको पूजा गर्ने मान्यताअनुसार प्राण प्रतिष्ठा समारोहअन्तर्गत कलश यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ।
श्रीपुरबाट सुरु भएको यात्रा कृषि औजार कारखाना क्षेत्र हुँदै घडीअर्वा पोखरी पुगेको थियो। त्यहाँबाट पवित्र जल भरेपछि श्रद्धालुहरू टाउकामा कलश बोकेर धार्मिक र्यालीसहित वीरगञ्जका विभिन्न मुख्य क्षेत्रको परिक्रमा गरेका थिए।
कलश यात्रा घण्टाघर क्षेत्र हुँदै पुनः श्री गणेश मन्दिर परिसरमा पुगेर समापन भएको थियो। यात्रामा महिला, किशोरी तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो।
परम्परागत धार्मिक पोसाकमा सहभागी श्रद्धालु, भजन–कीर्तन तथा कलश यात्राका कारण श्रीपुरसहित आसपासको वातावरण दिनभर धार्मिकमय बनेको थियो।




