काठमाडौं,२९ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष भट्टले मुख्यमन्त्री पदको शपथ लिएका हुन्। प्रदेश प्रमुख मियाँले शुक्रबार नै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेशसभा संसदीय दलका नेता हुन्। नेकपा र नेकपा एमालेबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको समर्थनमा भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका हुन्।
यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। शाहको राजीनामापछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
नयाँ सरकार गठनका लागि तोकिएको समयभित्र भट्टले एमालेको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन्।




