spot_img

एकै परिवारका तीन जना पुर्पक्षका लागि थुनामा

spot_img
spot_img

जनकपुर,२९ साउन  । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषा जिल्ला अदालतले एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

पुर्पक्षका लागि थुनामा पठाइएकामा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूलाई अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी उजुरीका आधारमा साउन १ गते पक्राउ गरेको थियो।

धनुषा जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए।

महतोका अनुसार उनीहरूविरुद्ध दायर नौवटा मुद्दामध्ये हालसम्म छवटा मुद्दामा थुनछेक बहस सकिएको छ। ती मुद्दामा अदालतले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। बाँकी तीनवटा मुद्दामा भने सुनुवाइ जारी छ।

अदालतको आदेशपछि गोपाल साह र उनका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।

प्रहरीका अनुसार उनीहरूमाथि अन्य व्यक्तिहरूसँग सम्बन्धित अनुचित लेनदेन तथा ठगीका विषयमा समेत अनुसन्धान र कानुनी कारबाही अघि बढिरहेको छ। अदालतको पछिल्लो आदेशसँगै आरोपित तीनै जना मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामा रहनेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय