वीरगञ्ज, २९ साउन । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित एक औषधि उद्योगमा छापा मारेर अवैध रूपमा औषधि उत्पादन तथा लेबलिङ गर्ने कार्यमा संलग्न रहेको आरोपमा उद्योग सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार अपराह्न करिब ३:४५ बजे प्रहरी नायब उपरीक्षक राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको संयुक्त टोलीले आर.पी. फार्मास्युटिकल्स प्रालिमा अनुगमन तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उद्योगमा अवैध रूपमा औषधि उत्पादन गर्नुका साथै औषधिमा स्टिकर र लेबलसमेत लगाउने कार्य भइरहेको फेला परेको प्रहरीले जनाएको छ।
अनुगमनमा औषधि व्यवस्था विभागका निरीक्षकहरू मुकेश कुमार राउत, रवि चौधरी र अमर शर्मा तथा घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीसमेत सहभागी थिए।
उद्योगका सञ्चालक राहुल कुमार चौहानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




