spot_img

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

spot_img
spot_img

काठमाडौं,३० साउन । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम, रोल्पालगायत जिल्लाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त सडकखण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो गएपछि मध्यपहाडी लोकमार्गसमेत पूर्ण रूपमा बन्द भएको छ।

रोल्पाको थबाङ गाउँपालिका–२ स्थित लाप्लेभिर र दबाङमा भूक्षय तथा पहिरोका कारण घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय