काठमाडौं,३० साउन । नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट आज खाना पकाउने एलपी ग्यास बिक्रीवितरण गर्ने भएको छ। निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपभोक्तालाई उपलब्ध गराउन लागिएको हो।
निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ।
त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी, कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिनेछ।
वसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास बिक्री हुने निगमले जनाएको छ।
निगमले अत्यावश्यक भएका उपभोक्तालाई मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ।
निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको छ भने सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्रीवितरण गरिरहेका छन्।




