काठमाडौं,३० साउन । प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा स्थानीय तहका शिक्षा प्रतिनिधिसहित विभिन्न सरोकारवालाको सहभागिता रहनेछ।
अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
छलफलमा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत अधिकारी सहभागी हुनेछन्। उनीहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या, आवश्यकता तथा सुधारका विषयमा सरोकारवालाको सुझाव संकलन गर्नेछन्।
मन्त्रालयका अनुसार शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गर्न लागिएको हो।




