जनकपुर,३० साउन । धनुषा प्रहरीले करिब ६५ ग्राम खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई शुक्रबार औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मण्डलको साथबाट खैरो हिरोइनसँगै लागुऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरिएको छ। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मधुसूदन न्यौपानेले जानकारी दिए।
यसैबीच, धनुषा प्रहरीले शुक्रबार विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई पनि पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये १० जना कुटपिट मुद्दामा तथा दुई जना घरेलु हिंसा मुद्दामा जरिवाना र सजाय तोकिएका अभियुक्त रहेको प्रहरीले जनाएको छ।
जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।




