काठमाडौं, ३० साउन । भारतले ब्रिटिस शासनबाट स्वतन्त्र भएको ८० वर्ष पूरा भएको अवसरमा शनिबार विभिन्न कार्यक्रमसहित ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ। सन् १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भएको सम्झनामा हरेक वर्ष यस दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वतन्त्रता आन्दोलनमा योगदान पुर्याउने सेनानीहरूको बलिदान स्मरण गर्दै देशवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।
मोदीले शनिबार नै ऐतिहासिक लालकिल्लामा राष्ट्रिय झण्डा फहराएर राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। यससँगै उनले लालकिल्लाबाट लगातार १३औँ पटक स्वतन्त्रता दिवसको सम्बोधन गर्नेछन्।
यस वर्षको समारोहमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठलाई विशेष प्राथमिकता दिइएको छ। पहिलोपटक लालकिल्लाबाट ‘वन्दे मातरम्’ सामूहिक रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ। साथै ‘विकसित भारत–२०४७’ को लक्ष्य हासिल गर्न युवाशक्तिको भूमिकालाई पनि समारोहमा विशेष रूपमा उजागर गरिनेछ।
समारोहका क्रममा भारतीय सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका सुरक्षाकर्मीले प्रधानमन्त्रीलाई गार्ड अफ अनर दिनेछन्। राष्ट्रिय झण्डा फहराउने क्रममा २१ तोपको सलामीसमेत दिइनेछ।
समारोहमा सेना, नौसेना र वायुसेनाका करिब २ हजार ५ सय छात्रछात्राका साथै ‘माइ भारत’का स्वयंसेवक सहभागी हुनेछन्। उनीहरूले ज्ञानपथमा बसेर ‘वन्दे मातरम्’ शब्दको आकृति निर्माण गर्ने कार्यक्रम रहेको छ।
स्वतन्त्रता दिवस समारोहमा विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ। महिला उद्यमी, सरसफाइ कर्मचारी, सडक व्यापारी, युवा नवप्रवर्तक, वैज्ञानिक, स्टार्टअप संस्थापक, कलाकार, किसान, विद्यार्थी तथा सरकारी योजनाका लाभग्राहीलाई पनि समारोहमा सहभागी गराइएको छ।




