spot_img

बारामा एक वर्षमा १,३७४ मुद्दा दर्ता, ८५५ फर्छ्यौट

spot_img
spot_img

बीरगन्ज, ३० साउन । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा फर्छ्यौट गरेको छ। यो कुल मुद्दाको करिब ६२ प्रतिशत हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले शुक्रबार पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ५ सय १८ मुद्दा अझै फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिनुभयो।

एसपी कुँवरका अनुसार २०८२ मंसिर ७ गते बारामा जिम्मेवारी सम्हालेपछि अपराध नियन्त्रण र अनुसन्धानसँगै चोरी तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा भन्सार छली गरी ल्याइएका १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ।

अवैध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गर्नुका साथै ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। खुला सीमाबाट हुने चोरीपैठारी र भन्सार छली नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा गस्ती तथा निगरानी बढाइएको एसपी कुँवरले बताउनुभयो।

बारामा पछिल्लो समय साइबर अपराध, बैंकिङ कसुर र घरेलु विवाद प्रमुख चुनौतीका रूपमा देखिएको उहाँको भनाइ छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुरसम्बन्धी १९५ मुद्दा दर्ता भएकामा १३१ वटा फर्छ्यौट भएका छन् भने ६४ वटा मुद्दा बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरका १४७ मुद्दा दर्ता भएका थिए।

प्रहरीले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी–तस्करी नियन्त्रण तथा महिला र बालबालिकामाथि हुने अपराध न्यूनीकरणलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। यस्तै, ट्राफिक व्यवस्थापन र समुदाय–प्रहरी साझेदारीका कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

राजमार्ग, औद्योगिक क्षेत्र र संवेदनशील स्थानमा नियमित चेकजाँच तथा गस्ती बढाइएको एसपी कुँवरले जानकारी दिनुभयो। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सवारी नियम उल्लंघन गर्नेहरूमाथि निगरानी र कारबाहीलाई समेत तीव्रता दिइएको उहाँले बताउनुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय