बीरगन्ज,३० साउन । वीरगन्ज महानगरपालिका–१४ स्थित चिनीमिल आवास क्षेत्रको नालामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ। मृतक वीरगन्ज–१८ भवानीपुर निवासी करिब ४६ वर्षीय जंगबहादुर पासवान रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे नालाको पानीमा डुबेर अचेत अवस्थामा रहेका पासवानलाई उद्धार गरी वीरगन्ज हेल्थ केयर अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको पहिचान उनका १७ वर्षीय छोरा मन्दिप पासवानले गरेका हुन्। अस्पतालमा मृत घोषणा भएपछि पोस्टमार्टमका लागि शव नारायणी अस्पताल लगिएको थियो।
पोस्टमार्टमपछि प्रहरीले शव परिवारजनको जिम्मा लगाएको र परिवारले शुक्रबार नै अन्तिम संस्कार गरेको जनाएको छ। घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




