जनकपुर,३० साउन । धनुषा प्रहरीले करिब ६५ ग्राम खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई शुक्रबार औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरीले मण्डलको साथबाट करिब ६५ ग्राम खैरो हिरोइनसँगै लागुऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मधुसूदन न्यौपानेले जानकारी दिए।
यसैबीच, धनुषा प्रहरीले शुक्रबार विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई पनि पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये १० जना कुटपिट र दुई जना घरेलु हिंसासम्बन्धी मुद्दामा जरिवाना तथा सजाय तोकिएका अभियुक्त रहेको प्रहरीले जनाएको छ।
जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।




