काठमाडौं,३० साउन । अमेरिकी सरकारले नेपाली नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै टीपीएसको भरमा अमेरिकामा बस्दै आएका नेपाली प्रभावित हुने भएका छन्।
अमेरिकी आप्रवासन सेवाका अनुसार नेपाली नागरिकका लागि टीपीएसको अवधि एक वर्षअघि नै समाप्त भइसकेको थियो। तर, उक्त सुविधा पुनः कायम राख्ने वा पूर्ण रूपमा अन्त्य गर्नेबारे निर्णय हुन बाँकी थियो।
अमेरिकी सरकारले नेपाली नागरिकका लागि टीपीएस निरन्तरता दिनुपर्ने कानुनी आधार नरहेको निष्कर्ष निकाल्दै सुविधा अन्त्य गर्ने निर्णय गरेको जनाएको छ।
टीपीएसअन्तर्गत सम्बन्धित देशका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा कानुनी रूपमा बस्न, काम गर्न तथा देशनिकालाबाट अस्थायी सुरक्षा पाउँदै आएका थिए। अब टीपीएस समाप्त भएपछि अन्य कुनै वैध आप्रवासन हैसियत नभएका नेपालीले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्नेछ।
अमेरिकाले नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपियालगायत देशका नागरिकका लागि पनि टीपीएस अन्त्य गर्ने निर्णय गरेको सार्वजनिक सूचीमा उल्लेख छ।
टीपीएस युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने विदेशी नागरिकलाई अमेरिकाले निश्चित समयका लागि प्रदान गर्ने अस्थायी कानुनी संरक्षण हो।




