काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै विशेष महाधिवेशनको विरोध गरेका छन्।
निधिले विशेष महाधिवेशनलाई विधानविपरीत र नेतृत्व कब्जा गर्ने प्रयासका रूपमा व्याख्या गर्दै कांग्रेसको नेतृत्व परिवर्तन नियमित १५औँ महाधिवेशनबाटै हुनुपर्ने बताएका छन्।
उनले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण आवश्यक भए पनि त्यसका लागि पार्टीको विधान, लोकतान्त्रिक प्रक्रिया र संस्थागत निर्णय पालना गर्नुपर्नेमा जोड दिएका छन्। देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन सम्पन्न गरी निर्वाचित नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने उनको प्रस्ताव छ।
निधिले कांग्रेसभित्र अहिले देखिएको विवाद विगतको तुलनामा गम्भीर रहेको उल्लेख गर्दै तत्काल समाधान नभए पार्टी र लोकतन्त्र दुवै कमजोर हुने चेतावनी दिएका छन्।
प्रस्तावमा बीपी कोइरालाको राष्ट्रियता, लोकतन्त्र, समाजवाद तथा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई कांग्रेसको वैचारिक आधारका रूपमा पुनः स्थापित गर्नुपर्ने उल्लेख छ।
यस्तै, जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक परिस्थितिमा भ्रष्टाचार, सुशासन, रोजगारी, शिक्षा र युवाका समस्यामा राज्यले आत्मसमीक्षा गर्नुपर्ने निधिले बताएका छन्।
संघीयता कार्यान्वयन, सामाजिक सद्भाव तथा भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने धारणा पनि उनले प्रस्तावमा राखेका छन्।
समग्रमा निधिको प्रस्तावले विशेष महाधिवेशनको सट्टा नियमित १५औँ महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र बीपी विचारमा आधारित कांग्रेसको वैचारिक पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएको छ।




